दफा ९३
विक्षिप्त अभियुक्तको वचाउ
(१) सैनिक अदालतबाट मुद्दा पुर्पक्ष हुँदा अभियुक्त विक्षिप्त भएको कारणबाट प्रतिवाद गर्न असमर्थ छ वा निजमाथि लगाएको आरोप निज विक्षिप्त  भएको कारणबाट सो कामको प्रकृति र सो काम अनुचित र कानुन विरुद्ध छ भन्ने जान्ननसक्ने भई यस्तो कसुर गरेको हो भन्ने लागेमा सैनिक अदालतले सो सम्बन्धमा पर्चा खडा गर्नेछ ।
(२) सैनिक अदालतको अध्यक्षले वा समरी सैनिक अदालतको हकमा पुर्पक्ष गर्ने अधिकृतले उपदफा (१) बमोजिम खडा गरेको पर्चा अविलम्ब उक्त मुद्दा सदर गर्ने अधिकारी वा दफा ११५ को उपदफा (३) बमोजिमको अधिकारी समक्ष पेश गर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त प्रतिवेदनलाई मुद्दा सदर गर्ने अधिकारीले सदर नगरेमा त्यस्तो अभियुक्तको मुद्दा सोही वा अरू सैनिक अदालतबाट पुर्पक्ष गराउनको लागि आवश्यक कारबाही गर्न सक्नेछ ।
(४) समरी सैनिक अदालतले उपदफा (२) बमोजिम पेश गरेको पर्चामा उल्लिखित व्यहोरा सदर गरेमा सदर गर्ने अधिकारीले अभियुक्तलाई हिरासतमा राख्ने आदेश दिई स्वीकृतिको लागि नेपाल सरकार, रक्षा मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम प्रतिवेदन प्राप्त भएपछि रक्षा मन्त्रालयले अभियुक्तलाई पागलखाना वा उपयुक्त अरू सुरक्षित स्थानमा थुनामा राख्ने आदेश दिन सक्नेछ ।